काठमाडौं । काठमाडौंमा आउँदो जनवरी १० र ११ मा एआई सम्मेलन आयोजना हुने भएको छ। वेब विकेन्ड काठमाडौंको आयोजनामा हुने यस सम्मेलनमा नेपाल तथा विदेशका एआई इन्जिनियर, डिजाइनर, संस्थापक र प्रविधि विज्ञहरू सहभागी हुनेछन्।
सम्मेलनमा एआईलाई वास्तविक उत्पादन र प्रणालीमा कसरी प्रयोग गरिन्छ, यसको सुरक्षा, मूल्याङ्कन र सुशासन कसरी गरिन्छ भन्ने विषयमा केन्द्रित छलफल हुनेछ। स्वास्थ्य, शिक्षा, डिजाइन, सुरक्षा र पूर्वाधार क्षेत्रमा काम गरिरहेका अनुभवी वक्ताहरूले आफ्ना व्यवहारिक अनुभव साझा गर्नेछन्।
स्पेन, अमेरिका, थाइल्याण्ड, हङकङ लगायत विभिन्न देशबाट वक्ताहरू काठमाडौं आउनेछन् भने नेपालमै कार्यरत इन्जिनियरहरूको पनि उल्लेखनीय सहभागिता रहनेछ। सम्मेलनमा ‘कम्पनीभित्र एआईको जिम्मेवारी कसको ?’ शीर्षकमा विशेष प्यानल छलफल पनि आयोजना गरिनेछ।
अन्तर्राष्ट्रिय सम्मेलनमा पुग्न कठिन हुने नेपाली प्रोफेसनलहरूलाई यस सम्मेलनले काठमाडौंमै विश्वस्तरीय ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। सम्मेलनमा ४०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ।
सम्मेलनसँगै दोस्रो दिन सामुदायिक हाइकको आयोजना गरिनेछ, जसले अनौपचारिक संवाद र सम्बन्ध विस्तारमा सहयोग पुर्याउने आयोजकले जनाएको छ। थप जानकारी यस वेबसाइटमा उपलब्ध छ।