काठमाडौँ । काठमाडौंको नरेफाँटस्थित मनोहरा–हनुमन्ते दोभान नजिक आज दिउँसो गाडी दुर्घटना भएको छ । मन्जु श्रेष्ठले चलाइएको गाडी अनियन्त्रित भई करिडोरबाट मनोहरा–हनुमन्ते दोभान खोलामा खसेको ट्राफिक प्रहरी डिल्लीराज उपाध्यायले जानकारी दिएका छन्।
दुर्घटनाको समयमा गाडीमा चालक बाहेक अन्य कुनै व्यक्ति सवार नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। चालक मन्जु श्रेष्ठ सकुशल रहेको पुष्टि भएको छ।
हाल घटनास्थलमा प्रहरी तथा स्थानीयबासीको सहयोगमा क्रेनमार्फत गाडी निकाल्ने कार्य भइरहेको उपाध्यायले बताए। दुर्घटना के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।
