काठमाडौं । आइतबार सेयर बजार परिसूचक करिब २ प्रतिशत बढेको छ ।
कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर २६३३.४२ अंकमा पुगेको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार आएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो । आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
नेप्से सूचक र कारोबार रकममा सुधार आउनु भनेको आगामी दिनमा पनि बजार बढ्ने संकेत गरेको भन्ने बुझिन्छ । सूचीकृत कम्पनीले एकपछि अर्को गर्दै लाभांश घोषणा गर्दा समेत राजनीतिक वातावरण नकारात्मक हुँदा बजारमा सुधार आउन सकेको थिएन ।
आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी कारोबार रकम पनि बढेर साढे ५ अर्बभन्दा माथि पुगेको छ ।
आइतबार मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । त्यसैगरी विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
आइतबार नेप्सेमा ३ सय २८ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २ सय ५९ कारोबारबाट ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम गत साता बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ अर्ब १९ करोड रुपैयाँ बराबर सेयर खरिद–बिक्री भएको थियो ।