×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् । ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको र त्यसका लागि नवयुवाहरू अघि सरिरहेको परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गरेकोभन्दै पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ ढकालले भनेका छन् ।

ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी आफैं पनि पर्यटन तथा हस्पिटालिटीको व्यसायमा संलग्न छन् ।

प्रतिकृया दिनुहोस्