×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अब नेटफ्लिक्समा पनि ‘फिफा’ गेम खेल्न सकिने

अब नेटफ्लिक्समा पनि ‘फिफा’ गेम खेल्न सकिने

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो चर्चित भिडिओ गेम सन् २०२६ मा पुनः सार्वजनिक गर्ने घोषणा गरेको छ । लामो समयको अन्तरालपछि फिफाले नयाँ साझेदारका रूपमा ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई रोजेको हो ।

गेमिङ इतिहासकै सफलमध्येको एक ‘फिफा’ सिरिज र यसको डेभलपर कम्पनी ईए स्पोर्ट्सबिच सन् २०२३ मा ३० वर्ष लामो साझेदारी अन्त्य भएको थियो । लाइसेन्स शुल्कको विषयमा कुरा नमिलेपछि ईए स्पोर्ट्सले आफ्नो गेमको नाम परिवर्तन गरी ‘ईए स्पोर्ट्स एफसी’ राखेको छ । यससँगै फिफाले आफ्नै ब्रान्डमा नयाँ गेम ल्याउन लागेको हो ।

नेटफ्लिक्सका अनुसार नयाँ फिफा गेम ‘डेल्फी इन्टरएक्टिभ’ ले विकास गरिरहेको छ । यो गेम सन् २०२६ को विश्वकप फुटबल सुरु हुनुअघि नै बजारमा ल्याउने तयारी छ ।

नेटफ्लिक्सका प्रयोगकर्ताले यो गेम आईओएस र एन्ड्रोइड डिभाइसमा नेटफ्लिक्स एपमार्फत खेल्न सक्नेछन् । साथै केही निश्चित टेलिभिजन सेटमा आफ्नो स्मार्टफोनलाई नै ‘कन्ट्रोलर’ का रूपमा प्रयोग गरेर यो गेम खेल्न सकिने प्रविधिको विकास गरिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकपअघि नेटफ्लिक्स गेम्ससँगको सहकार्यले डिजिटल फुटबलको नयाँ युग सुरु गर्ने बताएका छन् । “यो नेटफ्लिक्सका मेम्बरका लागि निःशुल्क उपलब्ध हुनेछ, जुन फिफाका लागि एउटा ऐतिहासिक कदम हो,” उनले भने ।

यस्तै डेल्फी इन्टरएक्टिभका प्रमुख क्यास्पर डौगार्डले यसलाई अहिलेसम्मकै उत्कृष्ट र विश्वव्यापी गेम बनाउने लक्ष्य राखिएको बताएका छन् । क्यालिफोर्नियामा रहेको यो कम्पनीले हाल जेम्स बोन्डको नयाँ शीर्षक ‘००७ फर्स्ट लाइट’ मा पनि काम गरिरहेको छ ।

फिफा र ईए स्पोर्ट्सको बाटो छुट्टिए पनि ईए स्पोर्ट्सको नयाँ गेम ‘ईए एफसी २४’ ले सन् २०२३ मा बेलायतमा सर्वाधिक बिक्री हुने गेमको रेकर्ड राखेको थियो । यस्तोमा फिफाले नयाँ साझेदारसँग कस्तो प्रतिस्पर्धा गर्छ भन्ने चासोको विषय बनेको छ ।

यद्यपि नेटफ्लिक्सका अधिकांश प्रयोगकर्ता मोबाइल केन्द्रित भएकाले गेमको गुणस्तरमा कस्तो प्रभाव पार्ला भन्नेमा गेमिङ समुदायमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । सामाजिक सञ्जालमा कतिपय समर्थकहरूले मोबाइलमा आधारित गेमले परम्परागत कन्सोल गेमिङको अनुभव दिन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सन् १९९३ मा पहिलो पटक बजारमा आएको फिफा गेम सिरिजका विश्वभर करिब १५ करोडभन्दा बढी सक्रिय खेलाडी रहेका छन् ।

प्रतिकृया दिनुहोस्