काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसका साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बोहरा बहालवाला सांसद् हुन् । बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ ।
बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । पछिल्लो समय ललितपुर महालक्ष्मीस्थानस्थित इमाडोलमा बस्दै आएका थिए ।
वि।सं। २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए । भिमदत्त पन्त र वि।पी। कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् ।
प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक सल्लाहकार भए ।
२०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले । त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरेका थिए ।