काठमाडौँ । संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा सम्पन्न IBA Men’s World Boxing Championship 2025 मा ऐतिहासिक सफलता हासिल गरेको नेपाली बक्सिङ टोली स्वदेश फिर्ता भएको छ।

नेपाल बक्सिङ महासंघद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ५४ के.जी. तौलसमूहका चन्द्र बहादुर थापा मगरले कांस्य पदक जित्दै नेपाली बक्सिङ इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन्। उनले प्रतियोगितामा बलिया प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। यस सफलतासँगै उनले न्यूनतम ७५ हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसमेत प्राप्त गरेका छन्।
त्यसैगरी ४८ के.जी. तौलसमूहका लाल बहादुर उप्रेतीले पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरे। उनले इथोपिया र माल्दोभियाका बक्सरलाई पराजित गरे पनि क्वाटरफाइनलमा काजाकस्तानका खेलाडीसँग पराजित हुन पुगे। स्वदेश फर्किएको टोलीको स्वागत नेपाल प्रहरीको ब्याण्डबाजासहित भव्य रूपमा गरिएको थियो।
स्वागत कार्यक्रममा नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी), राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का सदस्य सचिव, बोर्ड सदस्यहरू, राखेपका विभिन्न विभाग प्रमुखहरू, नेपाल बक्सिङ महासंघका पदाधिकारीहरू, खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलाडीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल बक्सिङ महासंघका अनुसार यो ऐतिहासिक सफलता मुख्य प्रशिक्षक प्रकाश थापामगरको नेतृत्वमा सहायक प्रशिक्षकहरू आईबिए थ्री स्टार कोच दिपक महर्जन, वान स्टार प्रशिक्षक सुजित पुन तथा सम्पूर्ण खेलाडीहरूको कडा परिश्रम, अनुशासन र समर्पणको परिणाम हो।

महासंघले खेलाडी, प्रशिक्षक, निर्णायक तथा सम्पूर्ण सहयोगी निकायप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। महासंघले यस उपलब्धिले नेपाली बक्सिङलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको जनाएको छ।