काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दुवै नेताको घरमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।
शान्तिपूर्ण प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्न पठाएको आयोगका एकजना पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘उहाँहरू दुवैजनालाई हामीले लिखित प्रश्न पठाएका छौँ ।’
न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगका एकजना पदाधिकारीले बताए ।
उपत्यका छाड्न र विदेश जान रोक लगाएको ५ जनाको स्थानहद आयोगले फुकुवा गरेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजीअ छविलाल रिजालको स्थानहद आयोगले फुकुवा गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि स्थानहद र विदेश भ्रमण फुकुवा गरिएको छ ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ । आयोगले अहिलेसम्म १५० जना भन्दा धेरैसँग बयान लिएको छ ।