×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाको बागी उम्मेदवारी

नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाको बागी उम्मेदवारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । नेकपाले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध बागमती प्रदेशको सिन्धुली–२, कोशी प्रदेशको उदयपुर–२, लुम्बिनी प्रदेशको दाङ–२ र कर्णाली प्रदेशको कालिकोट–१ मा बागी उम्मेदवारी दर्ता भएका छन् ।

सिन्धुली–२ मा पार्टीले उठाएका उम्मेदवार लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारको पक्षमा साबिक माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वइन्चार्ज नै उभिएपछि तरङ्ग उत्पन्न भएको छ । २०७९ सालमा सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहेका गजुरेल अन्तमा टिकट नपाएपछि असन्तुष्ट भएका थिए । योपटक पनि लेखनाथ नै दोहोरिएपछि गजुरेलले महेश्वरलाई समर्थन गरेका छन् । 

गजुरेल पूर्वमा पार्टीलाई एक नम्बर बनाउने भनेर जिल्ला दौडाहामा लागेका थिए । यो क्षेत्र २०६४ सालदेखि माओवादीले जित्दै आएको क्षेत्र हो । २०६४, २०७० र २०७४ मा गजुरेल निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार रहेका लेखनाथ विजयी भएका थिए ।

दाहालको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल भइरहेको नेता सरल सहयात्री पौडेलले बताए । ‘सिन्धुली–२ मा बागी उम्मेदवारी परेपनि चुनावी परिणाम खासै फरक पर्दैन । यद्यपि फिर्ता लिने विषयमा छलफल भइरहेको छ । फिर्ता लिनुभएन भने कारबाही हुन्छ’, उनले भने ।

दाङ–२ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दर्ता गरेपछि विवाद उत्पन्न भएको छ । अघिल्लो निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई माओवादीका उम्मेदवार रेखा शर्माले पराजित गरेकी थिइन् । योपटक माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि पार्टीले चौधरीलाई उम्मेदवार बनाएको थियो । तर पार्टीको निर्णयप्रति चरम असन्तुष्टि जनाएका केसीले पार्टी नै छोडेको घोषणा गरे । साबिक एकीकृत समाजवादीका उपमहासचिव चौधरीलाई टिकट दिने कि केसीलाई दिने भन्ने विषयमा निकै रस्साकस्सी भएको थियो । नेता सुदर्शन बरालले उम्मेदवारी फिर्ता लिने बेलासम्म उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

‘उहाँ पार्टीका सिनियर नेता हुनुहुन्छ। आवेशमा आएर निर्णय लिनुभएको छ । उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भइरहेको छ । विश्वास छ उहाँले आफ्नो निर्णयमा पुर्नविचार गर्नुहुन्छ’, उनले भने ।

यता माओवादी युद्धको आधार क्षेत्र कर्णाली प्रदेशको कालीकोट–१ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध जीवन बुढाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा पूर्वमुख्यमन्त्री महिन्द्र बहादुर शाहीले उम्मेदवारी दिएका छन् । शाही २०७०, २०७४ र २०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पार्टीले टिकट नदिएपछि बुढाले बागी उम्मेदवारी दिएका हुन् । साबिक माओवादीका कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बुढाले उम्मेदवारी फिर्ता लिने विश्वास लिए । यहाँ नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । २०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका विश्वकर्माले २०७०देखि हरेक निर्वाचन बहिस्कार गर्दै आएको थियो । पार्टीको निर्णय अनुसार योपटक विश्वकर्माको नेतृत्वमा माओवादीले निर्वाचनमा भाग लिएको छ ।  

‘बागी उम्मेदवारी कालिकोटमा मात्र परेको छ । अन्य जिल्लामा छैन । उम्मेदवारी फिर्ता लिने समय छ, त्यतिबेलासम्म फिर्ता हुन्छ’, उनले भने ।

यता उदयपुर–२ मा पनि नेकपाको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको नेता हर्क बहादुर नेम्वाङले जानकारी दिए । नेकपाबाट यो क्षेत्रमा सुरेश कुमार राई उम्मेदवार रहेका छन् । उनका विरुद्ध मेजर राईले बागी उम्मेदवारी दिएको नेम्वाङले जानकारी दिए । योपटक मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुनै बागी उम्मेदवार नभएको नेताहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस्