ललितपुर । योङ कम्युनिष्ट लिग, YCL नेपालका केन्द्रीय उप–महासचिव तथा बागमती प्रदेश इन्चार्ज धनकुमार मैनाली (अभिलाष) लाई ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस मैनाली भूमिगत कालखण्डदेखि नै ललितपुर–२ लाई आफ्नो आधार क्षेत्र बनाएर निरन्तर राजनीतिक र संगठनात्मक काम गर्दै आएका निडर, साहसी र अन्यायमा परेका जनताको पक्षमा स्पष्ट रूपमा उभिने लोकप्रिय युवा नेताका रूपमा परिचित छन्।
उनी पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ युवा नेता तथा संगठनका फ्याक्शन ईन्चार्ज रामप्रसाद सापकोटा “दिपशिखा” को नेतृत्वमा खटिएको विशेष टिमका सदस्य समेत हुन् । यसले उनको अनुशासन, जिम्मेवारीबोध, विश्वासयोग्यता र संगठनप्रतिको समर्पणलाई स्पष्ट रूपमा देखाउने पार्टी स्रोतको भनाइ छ ।

इलाका, क्षेत्र, जिल्ला हुँदै प्रदेश तहसम्म क्रमबद्ध रूपमा जिम्मेवारी सम्हाल्दै आएका मैनाली हाल पार्टी कमिटी बागमती प्रदेश समितिका सदस्य समेत हुन्। संगठन निर्माण, जनसम्पर्क र राजनीतिक परिचालनमा उनी अनुभवी नेतृत्वका रूपमा स्थापित छन्।
शैक्षिक रूपमा पनि सक्रिय मैनालीले राजनितिकशास्त्र र समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय (TU) मा खेलकुद विज्ञान विषयमा दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।
खेलकुद क्षेत्रमा समेत उल्लेखनीय पहिचान बनाएका मैनाली बक्सिङका पूर्व राष्ट्रिय खेलाडी हुन्। उनी नेपालकै पहिलो अन्तर्राष्ट्रिय आईबिए थ्री–स्टार रेफ्री/जज समेत हुन् र उनले विभिन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरूमा रेफ्री तथा जजको भूमिकामा काम गरिसकेका छन्।
पार्टी स्रोतका अनुसार ललितपुर–२ लाई रणनीतिक रूपमा महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै संगठनात्मक बल, जनआधार, अनुभव, अनुशासन र जित सुनिश्चित गर्न सक्ने क्षमतालाई आधार मानेर मैनालीलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको हो । ललितपुर जिल्ला अन्तर्गतका तीनवटै निर्वाचन क्षेत्रबाट सिफारिस भै आएको नामावली अन्तिम निर्णयका लागि प्रदेश/केन्द्रीय नेतृत्वसमक्ष पौष ११ गते जनाइएको छ ।

ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल “ललित”को विशेष उपस्थिति तथा जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा केन्द्रिय सदस्य, प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य र पालिका ईन्चार्ज, अध्यक्षहरुको उपस्थितिमा गोदावरी बाडेगाउमा सम्पन्न बैठकमा ललितपुर–२ बाट मैनाली संगै केन्द्रिय सल्लाहकार समिति सदस्य कुलाल डंगोल, पुर्व ज्यापुसमाजको अध्यक्ष तथा केन्द्रिय निर्वाचन आयोग सदस्य मंगल महर्जन, महालक्ष्मी नगर कमिटी अध्यक्ष राजेन्द्र अमात्य, शिक्षक ललितपुर जिल्ला समितिका पुर्व अध्यक्ष देवेन्द्र महर्जन, समानुपातिक तर्फ बागमति प्रदेश समिति सदस्य सानुराजा बज्रचार्य, महालक्ष्मी नगर कमिटी सचिव नेत्र पुलामी मगर, जिल्ला सदस्य शर्मिला महर्जन र जेन्जी तर्फ राहुल सिं सिफारिस भएकाछन् ।