×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

आन्तरिक छलफलमा व्यस्त प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले दिउँसो नेकपाका प्रमुख नेताहरूसँग छलफल गर्न लागेका हुन् । 

उनले बिहान सहसंयोजक माधव कुमार नेपालसँग राष्ट्रिय सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । दिउँसो एकतामा जोडिएका १७ घटकका प्रमुखसँग छलफल गर्न लागिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा आन्तरिक छलफल जारी नै छ । दिउँसो प्रमुख नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । पार्टीको तर्फबाट उम्मेदवार आज नै टुंग्याउनुपर्ने भएकाले उहाँ बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ’, उनले भने ।

प्रचण्डले नेपाल, महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठ लगायतसँग छलफल भइसकेको बुझिएको छ । फागुन २० गते पदावधि सकिने १८ सिटका लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ । 

आयोगले बुधबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ । सम्मानजनक चुनावी तालमेल गर्ने सम्बन्धमा प्रचण्डले कांग्रेस, एमालेका नेताहरूसँग प्रचण्डले निरन्तर छलफल गरिरहेको नेताहरूको भनाइ छ । 

प्रतिकृया दिनुहोस्