काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्ष, हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुङ्गालगायत विभिन्न जिल्लाका एमाले नेताहरूले नेकपामा आबद्धता जनाएका हुन्।
नवप्रवेशीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देश गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। नवप्रवेशीहरूले उचित समयमा उचित निर्णय गरेको भन्दै उनले पार्टीमा स्वागत गरे र यस प्रवेशले पार्टीलाई थप ऊर्जा प्राप्त भएको बताए।
देशभर नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिको दिशामा जनतासँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई स्वागत गर्दै नेपाली कम्युनिस्ट पार्टीमा सबैलाई सम्मान, जिम्मेवारी र अवसर समान रूपमा प्राप्त हुने स्पष्ट पारे। “यहाँ पद र अवसरका लागि दबाब दिनु पर्दैन, योगदान र क्षमताको मूल्यांकन हुन्छ,” उनले भने।
पार्टी प्रवेश गर्ने प्रमुख नेताहरूमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरि, डा। अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व प्रमुख श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, नेता लक्ष्मण चौरसिया, पूर्व वडा अध्यक्ष हनिफ अन्सारी तथा सांसद प्रतिनिधि राजकुमार गुप्ता रहेका छन्।

त्यसैगरी विन्ध्यवासिनीका पूर्व वडा अध्यक्ष सञ्जय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडा अध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडा अध्यक्ष रामरेखा सिंह, वडा अध्यक्ष वीरेन्द्र यादव (वडा नं. ७), राधा बैठा, मिना देवी बैठा, पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ तथा ओखलढुङ्गाका एमाले नेता सिताराम गुरुङलगायत पनि नेकपामा प्रवेश गरेका छन्।
यस पार्टी प्रवेशसँगै नेपाली कम्युनिस्ट पार्टीको संगठन थप सुदृढ हुँदै गएको र जनस्तरमा राजनीतिक प्रभाव विस्तार भएको नेताहरूले बताएका छन्।