काठमाडौँ । मेटाले ह्वाट्सएप ग्रुप च्याटलाई थप व्यवस्थित र व्यक्तिगत बनाउन केही महत्त्वपूर्ण अपग्रेड रोल आउट गरेको छ । यो नयाँ अपडेटमा मेम्बर ट्याग (Member Tags), टेक्स्ट स्टिकर (Text Stickers) र इभेन्ट रिमाइन्डर (Event Reminders) जस्ता फिचरहरू समावेश छन् । जसले प्रयोगकर्ताहरूलाई ग्रुपमा आफ्नो भूमिका स्पष्ट पार्न र कुराकानीलाई थप आकर्षक बनाउन मद्दत गर्नेछ ।
यस अपडेटको सबैभन्दा रोचक फिचर मेम्बर ट्याग हो । जसले प्रयोगकर्ताहरूलाई विशेष ग्रुपका लागि आफ्नै कस्टमाइज ट्याग राख्ने अनुमति दिन्छ । यो फिचरमार्फत प्रयोगकर्ताले आफू जुन ग्रुपमा छ, त्यही अनुसारको भूमिका देखाउन सक्छन् । उदाहरणका लागि एकै व्यक्तिले परिवारको ग्रुपमा 'समीपको बुबा' (Samip’s Dad) र साथीहरूको फुटबल ग्रुपमा 'गोलकिपर' (Goalkeeper) को ट्याग प्रयोग गर्न सक्छन् । यो फिचर विशेष गरी फेन्टासी स्पोर्ट्स लिगहरू सञ्चालन गर्ने, रोल प्ले गर्ने वा विभिन्न सामाजिक समूहहरूमा फरक भूमिका निभाउनेहरूका लागि निकै उपयोगी हुनेछ ।
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई कुनै पनि शब्दलाई स्टिकरमा परिणत गर्न सक्ने सुविधा पनि ल्याएको छ । प्रयोगकर्ताहरूले स्टिकर सर्च (Sticker Search) मा गएर आफूले चाहेको शब्द टाइप गरी स्टिकर बनाउन सक्छन् । यसरी बनाइएका नयाँ स्टिकरहरूलाई च्याटमा नपठाइकनै सिधै आफ्नो स्टिकर प्याकमा थप्न सकिन्छ । जसले गर्दा मनपर्ने स्टिकरहरू पछि प्रयोग गर्न सजिलो हुन्छ ।
त्यस्तै ग्रुपमा सिर्जना गरिएका कार्यक्रमहरूको लागि अब पहिले नै रिमाइन्डर (early reminders) सेट गर्न सकिनेछ । यसले ग्रुपका सदस्यहरूलाई कुनै पार्टीका लागि यात्रा सुरु गर्न वा सही समयमा भिडिओ कलमा जोडिन सम्झाउन मद्दत पुर्याउनेछ । मेटाका अनुसार यो फिचरले मानिसहरूलाई योजना अनुसार समयमै उपस्थित हुन सहज बनाउनेछ ।
ह्वाट्सएपले विगत केही समयदेखि ग्रुप च्याटलाई बलियो बनाउन निरन्तर काम गरिरहेको छ । यी नयाँ फिचरहरूले यसअघि नै उपलब्ध रहेका २ जीबीसम्मका ठुला फाइल शेयरिङ, एचडी मिडिया, स्क्रिन शेयरिङ र भ्वाइस च्याट जस्ता सुविधाहरूलाई थप पूर्ण बनाएका छन् । यसबाहेक ह्वाट्सएपले हालै मात्र एआई-पावर्ड च्याट समरी र 'अवे मेसेज' (away messages) पनि पुन: सुरु गरेको छ ।
मेटाका अनुसार यी नयाँ अपग्रेडहरूले नयाँ वर्षमा मानिसहरूलाई आफ्ना साथीभाइ र परिवारसँग अझ नजिक ल्याउन र सञ्चारलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ ।