×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रवि र छविको मुद्दा आज पनि स्थगित

रवि र छविको मुद्दा आज पनि स्थगित

बुटवल । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि  स्थगित गरिएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा  हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

आज न्यायाधीश सागर विष्टको आफन्त  जाहेरवाला  कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको उनले बताए । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ । 

यसअघि दुई पटक रविका कानुनी व्यवसायीले निवेदन दिएर सो मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेको मुद्दामा न्यायाधीश द्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाने २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन् ।

प्रतिकृया दिनुहोस्