×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘बुढाहरुको पार्टी’ भन्नेले प्रचण्डसँग ‘मर्निङ वाक’ गरेर देखाउन् : भीम रावल

‘बुढाहरुको पार्टी’ भन्नेले प्रचण्डसँग ‘मर्निङ वाक’ गरेर देखाउन् : भीम रावल

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन् । 

सोमबार नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले गत भदौ २४ गतेको घटना र वर्तमान राजनीतिक अवस्थालाई लिएर ओलीको आलोचना गरेका हुन् ।

रावलले केपी ओलीले आफ्नो पार्टीलाई ‘बुढाहरुको पार्टी’ भनेको प्रति टिप्पणी गर्दै शारीरिक क्षमता परीक्षणको चुनौती दिए । 

‘उहाँले नेपाली कम्युनिष्ट पार्टीलाई बुढाहरुको पार्टी भन्नुभयो,’ रावलले भने, ‘म चुनौती दिन्छु, नेपाली कम्युनिष्ट पार्टीका संयोजकसँग बिहान–बिहान हिँडेर देखाउनु नि एक पटक ।’

नेता रावलले गत भदौ २३ र २४ गतेको आन्दोलनको प्रसङ्ग कोट्याउँदै तत्कालीन समयमा प्रधानमन्त्री ओली गैरजिम्मेवार बनेको आरोप लगाए । 

युवा पुस्ताले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग गर्दा बालुवाटारबाट दमनको आदेश दिएको तर पछि आफैँ भागेको उनको भनाइ छ ।

‘उहाँले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनु भएन । बालुवाटारबाट दमनको कुरा गरिरहनुभयो,’ रावलले भने, ‘जब बालुवाटारमा युवाहरू प्रवेश गरे, उहाँ हेलिकप्टरबाट भागेर बेपत्ता हुनुभयो । उहाँलाई न देशको सुरक्षाको चिन्ता भयो, न जनताको ।’

उनले ५ वर्षको युद्धमा नभएको क्षति ५ घण्टामा काठमाडौँमा भएको दाबी गरे । रावलले अहिले ‘गुण्डु निवास’ बाट ओलीले धम्कीपूर्ण भाषा प्रयोग गरिरहेको आरोपसमेत लगाए ।

लामो समय एमालेमा काम गरेका कारण पोखराको कास्कीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो जिब्रो लरबराएर ‘एमाले’ शब्द निस्किएको प्रसङ्गमा रावलले व्यङ्ग्य गरे । ‘मैले धेरै वर्ष काम गरेको कारण नेकपा एमाले भन्ने मेरो जिब्रोबाट गएछ । मैले नाम लिँदा एमालेका नेता तथा कार्यकर्तालाई कति शीतल भएछ,’ उनले भने ।

रावलले देशको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । ‘हाम्रा नदीनाला र जडीबुटीमा हाम्रो अधिकार छैन । हुँदाहुँदा हाम्रा नागरिकमाथिको अधिकार पनि खोसिएला जस्तो भएको छ,’ उनले भने ।

तत्कालीन नेकपाको दुई तिहाइ बहुमतले राष्ट्रियता मजबुत बनाउने अपेक्षा गरे पनि त्यो पूरा नभएको र १० बुँदे सहमतिसमेत कार्यान्वयन नभएको गुनासो उनले गरे ।

राई, लिम्बू, मधेसी वा बाहुन जे भए पनि सबैभन्दा पहिले नेपाली भएको भन्दै रावलले देशको पहिचान मेटिए कसैको अस्तित्व नरहने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमार्फत विश्वसामु नझुक्ने सार्वभौमसत्ता सम्पन्न नेपाल बनाउने उद्घोष गरे ।

सम्बोधनको अन्त्यमा रावलले वर्तमान सरकारसँग तत्काल निर्वाचन सम्पन्न गर्न, हराएका गोलीगठ्ठाहरु नियन्त्रणमा लिन र भागेका कैदीबन्दीलाई कानुनी दायरामा ल्याउन माग गरे । 

प्रतिकृया दिनुहोस्