×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा जनमुखी नेतृत्वको सशक्त विकल्प: धनकुमार मैनाली (अभिलाष)

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा जनमुखी नेतृत्वको सशक्त विकल्प: धनकुमार मैनाली (अभिलाष)

ललितपुर । देशव्यापी रूपमा निर्वाचनको माहोल क्रमशः तीव्र बन्दै गइरहेका बेला ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ पनि राजनीतिक बहस र जनचासोको केन्द्रका रूपमा उभिन थालेको छ।

चिया पसलदेखि टोल–टोलमा आयोजना हुने भेला तथा छलफलहरूमा विकास, सुशासन, पारदर्शिता र विश्वसनीय नेतृत्वका विषयमा नागरिक संवाद निरन्तर भइरहेको छ। यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अगाडि सारिएका युवा नेता धनकुमार मैनाली (अभिलाष) प्रति जनचासो र सकारात्मक चर्चा उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ।

धनकुमार मैनाली (अभिलाष) जुझारु, अनुशासित र परिणाममुखी नेतृत्व क्षमता भएका युवा नेताका रूपमा परिचित छन्। खेलकुद क्षेत्रमा समेत बलियो पहिचान बनाएका मैनाली पूर्व राष्ट्रिय खेलाडी मात्र नभई नेपालकै पहिलो अन्तर्राष्ट्रिय IBA थ्री–स्टार रेफ्री/जज हुन्। विभिन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरूमा रेफ्री तथा जजको भूमिकामा काम गर्दै उनले नेपालको खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

खेलकुदबाट आत्मसात् गरेको अनुशासन, निष्पक्षता र नेतृत्वदक्षतालाई उनले आफ्नो राजनीतिक यात्रामा प्रभावकारी रूपमा प्रयोग गर्दै आएका छन्। शैक्षिक पृष्ठभूमि र वैचारिक स्पष्टता शैक्षिक रूपमा पनि सक्रिय मैनालीले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने हाल त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत खेलकुद विज्ञान विषयमा दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।

व्यवहारिक अनुभव र शैक्षिक ज्ञानको संयोजनले उनलाई नीति निर्माण, योजना कार्यान्वयन तथा जनउत्तरदायी नेतृत्वका हिसाबले अझ सुदृढ बनाएको देखिन्छ। संगठनात्मक अनुभव र राजनीतिक यात्रा मैनाली भूमिगत कालदेखि नै उत्पीडित, श्रमिक तथा सीमान्तकृत समुदायको अधिकार र हितका पक्षमा निरन्तर सक्रिय रहँदै आएका छन्।

उनको राजनीतिक यात्रामा तत्कालीन नेकपा (माओवादी केन्द्र) जनमुक्ति सेनाको प्लाटुन कमाण्डर, बागमती प्रदेश समिति सदस्य, YCL नेपाल केन्द्रीय उप–महासचिव तथा बागमती प्रदेश समिति इन्चार्ज जस्ता महत्वपूर्ण जिम्मेवारीहरू समेटिएका छन्। संगठन निर्माण, जनसम्पर्क विस्तार, युवाको सशक्तीकरण र सामाजिक न्यायका मुद्दामा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

लामो संगठनात्मक अनुभव, स्पष्ट वैचारिक दृष्टिकोण र कार्यमै केन्द्रित नेतृत्वशैलीका कारण मैनाली विकासप्रेमी र विश्वसनीय समाजसेवी नेताका रूपमा स्थापित हुँदै गएका छन्। जनतासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पाटनढोका, गाबाहाल, कुमारीपाटी, लगनखेल, सिञ्चाहिटी, च्यासल, युएन पार्क, बालकुमारी, ग्वार्को, लाकुरी–लामाटार, लुभु, चाङाथली, सानागाउँ, सेतीपाखा, इमाडोल तथा टिकाथली क्षेत्रका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै मैनालीले शिक्षा, स्वास्थ्य सेवा, खेलकुद पूर्वाधार विकास, रोजगारी सिर्जना, स्थानीय सडक तथा ढल व्यवस्थापन जस्ता विषयमा स्पष्ट र व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्।

“राजनीति भाषणमा सीमित नभई सेवामुखी कार्यमा आधारित हुनुपर्छ” भन्ने उनको धारणा व्यवहारमै देखिन थालेको स्थानीयहरूको भनाइ छ। संस्कृति, पर्यटन र समृद्धिको स्पष्ट कार्ययोजना नेवा:, खसआर्य, तामाङ तथा अन्य सबै जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानसहित संरक्षण, प्रवर्द्धन र संवर्द्धन गर्दै ललितपुर–२ लाई सबै समुदायको साझा फुलबारीका रूपमा विकास गर्ने मैनालीको प्रमुख प्राथमिकता रहेको छ।

यसअन्तर्गत हस्तकला र मूर्तिकलाको संरक्षण तथा प्रवर्द्धन, ऐतिहासिक मठ–मन्दिरहरूको संरक्षण र पुनःस्थापना, तथा तिनलाई आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ। ऐतिहासिक र पौराणिक शहरको मौलिक पहिचान जोगाउँदै २१औँ शताब्दीको विज्ञान र प्रविधिको प्रभावकारी प्रयोग मार्फत आधुनिक, व्यवस्थित र दिगो शहर निर्माण गर्ने परिकल्पना उनको कार्ययोजनामा समेटिएको छ।

यसैगरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा आधुनिकीकरण, होटल तथा रेस्टुराँ व्यवसायको विस्तार, तथा उद्योग–कलकारखानाको विकास लाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। उत्पादन, पर्यटन र सेवा क्षेत्रलाई आपसमा जोड्दै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गरी ललितपुर निर्वाचन क्षेत्र नम्बर २ लाई समृद्ध, सांस्कृतिक रूपमा जीवन्त र आर्थिक रूपमा सबल क्षेत्रका रूपमा विकास गर्ने मैनालीको स्पष्ट भावी कार्ययोजना रहेको छ।

नयाँ पुस्ताको भरोसा

युवामैत्री नीति, खेलकुद तथा पर्यटन प्रवर्द्धन, पारदर्शी बजेट प्रणाली र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने मैनाली नयाँ पुस्ताको अपेक्षा र भरोसाको प्रतिनिधिका रूपमा उभिएका छन्। जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुने, संकटका घडीमा अग्रपंक्तिमा उभिने र परिणामका आधारमा मूल्यांकन हुन चाहने नेतृत्वको खोजीमा रहेका मतदाताका लागि उनी एक सशक्त, विश्वसनीय र जनमुखी विकल्प का रूपमा देखा परेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ ले अनुभव, इमानदारी र परिणाममुखी कार्यशैलीको संयोजन खोजिरहेको परिप्रेक्ष्यमा, उक्त संयोजन धनकुमार मैनाली (अभिलाष) मा प्रत्यक्ष रूपमा प्रतिबिम्बित हुने जनमत क्रमशः सुदृढ हुँदै गएको देखिन्छ।

प्रतिकृया दिनुहोस्