×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो । विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रह्‍यो ।

यी दुई टोली शनिबार मात्र लिग चरणको आ(आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जित हासिल गरेको थियो ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।

गत संस्करण पनि अंकतालिकामा सबैभन्दा शीर्षस्थानमा रहेर प्लेअफ खेलेको सुदूरपश्चिम रोयल्सले यस संस्करण पनि टेबल टपरका रूपमा प्लेअफ खेल्दै छ । सुदूरपश्चिमले सुरुवाती ६ खेलमा लगातार जित निकालेर शीर्षस्थानमै आसीन रहने पक्का गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा भने सुदूर विराटनगर किङ्ससँग पराजित भयो । विराटनगर भने त्यही जितको मद्दतले दोस्रो स्थानमा फिनिस गरेर पहिलो क्‍वालिफायरमा स्थान बनाएको हो ।

अब पहिलो क्‍वालिफायरमा सुदूरले फेरि विराटनगरसँगै खेल्दै छ । विजेता टोलीले ३ दिनको आराम पाएर सिधै फाइनल खेल्नेछ । दुवै टोली जितको खोजीमा हुनेछन् ।

सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरले अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ।

प्रशिक्षक जगत टमाटाले ब्याटिङ बलिङ सबैमा टिमले राम्रो गरिरहेको बताएका छन् । ‘अहिले पनि हाम्रो बलियो पक्ष बलिङ देखिएको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै बलियो छ जस्तो मलाई लागिरहेको छ’ उनले भनेका छन् ।

यस्तै राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पनि फाफ डुप्लेसी, मार्टिन गप्टिल, साम हिजलेट, मर्चेन्ट डे लाङजस्ता विदेशी खेलाडीको उपस्थितिले बलियो देखिएको छ ।

सुदूरका लागि लिग चरणमा खेलेका क्रिस लिन र जोश ब्राउन प्लेअफमा उपलब्ध हुने छैनन् । उनीहरूको स्थानमा भारतका शेल्डन ज्याकसन र पाकिस्तानी मूलका अमेरिकी क्रिकेटर मुख्तार अहमद भित्र्याइसकेको छ ।

यता विराटनगरका लागि भने डुप्लेसी, हिजलेट, गप्टिल र डे लाङ अन्तिमसम्मै उपलब्ध हुनेछन् । यसअघि शुभम रन्जाने भने लिग चरणकै बीचमा फर्किसकेका थिए भने जर्ज मन्से पनि फर्किएका छन् । शेहान जयसूर्यालाई पाँचौं खेलमा टोलीमा ल्याइएको भएपनि उनी सोही खेलमा चोटग्रस्त भएपछि खेलेका छैनन् । अन्य विदेशी खेलाडी विराटनगरले घोषणा गरेको छैन ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताउँदै अघिल्लो खेलबाट सकारात्मक पक्षहरू अर्को खेलमा पनि लिएर जाने बताएका थिए । ‘सुदूरपश्चिमले धेरै राम्रो ब्रान्ड अफ क्रिकेट खेलिरहेको छ, त्यसको क्रेडिट दीपेन्द्र (कप्तान)लाई पनि जान्छ’ सन्दीपले भने, ‘आजको दिनमा जसरी खेलेका छौं, सकारात्मक कुराहरूलाई अगाडिको खेलमा पनि लिएर जानेछौं।’

प्रतिकृया दिनुहोस्