मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

नेकपा (माओवादी केन्द्र)


केन्द्रीय कमिटी १९९ सदस्यीय हुने
३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो ।

अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हलमा जानकारी गराए ।

‘अब प्रत्यक्ष निर्वाचनबाट कमिटी र नेतृत्व चयनको बाटोमा जानुपर्छ । हिजो युद्धको जस्तो सबैको मूल्यांकन गरेर जाने सम्भावना छैन’, प्रचण्डले हलमा भने, ‘महाधिवेशनबाट कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा आम रूपमा विमति नहुने ठाउँमा पुगेका छौं ।’

उनले यो निर्णय पार्टी जीवनको महत्वपूर्ण मानक भएको भन्दै यसले पार्टीमा विद्यमान समस्या हल गर्ने बताए ।

‘हामीले केन्द्रीयता भन्दा पनि सबै तहको जनवादबाट कमिटी निर्वाचित गर्ने महत्वपूर्ण निर्णय गरेका छौं । त्यो कमिटीले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्छ । यसले अहिलेको समस्या हल हुन्छ’, अधिवेशन हलमा प्रतिनिधिको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘यसमा थप छलफल गर्न सकिन्छ । यो नै अन्तिम भन्ने होइन । हतारमा भन्दा अझै वैचारिक हिसाबले पनि सोच्नुपर्छ । यसले मूलभूत समस्या समाधान गर्छ भन्ने ठाउँमा हामी पुगेका छौं ।’

माओवादीले केन्द्रीय समिति निर्वाचनबाट चयन गरे पनि पदाधिकारी भने केन्द्रीय समिति भित्रबाट चयन गर्नेछ । अध्यक्ष प्रचण्डले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन गर्नुपर्छ भन्ने बेला भइ नसकेको बताए ।

यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको विधानमा निर्वाचन प्रणालीबारे स्पष्ट उल्लेख थिएन ।

कार्यदलका सदस्य समेत रहेका पार्टी उपमहासचिव जनार्दन शर्माले ९ बुँदे पूरक प्रस्ताव राख्दै प्रत्यक्ष निर्वाचनबाट सबै तहको नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए । अधिवेशन हलमा अध्यक्ष प्रचण्डले पनि शर्माको उक्त प्रस्तावलाई प्रवेश गराएका थिए ।

समूहगत छलफलका क्रममा अधिकांश प्रतिनिधिले कमिटीसँगै नेतृत्व पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने सुझाव राखेका थिए । समूहगत छलफलबाट आएका सझुावपछि बसेको पदाधिकारी बैठकले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार गर्ने, तर पदाधिकारीलाई निर्वाचित कमिटीको चुनावबाट छान्ने निर्णय गरेको हो ।

अधिवेशनको बीचमा बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्मा र हरिबोल गजुरेलले मात्रै धारणा राखेका थिए ।

‘शर्माले आफ्नो पूरक प्रस्ताव अनुरुप सबै तहको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने मत दोहोर्‍याउनुभयो । गजुरेलजीले त्यसमा फरक मत राख्दै निर्वाचित र मूल्यांकनसहितको मिश्रित प्रणालीबाट जानुपर्ने धारणा राख्नुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यी विषयमा थप छलफल गर्दै जाने, तर अहिले सिंगो हलले नै एकै प्रकारको धारणा राखेकाले प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रीय समिति र त्यसले पदाधिकारी छनौट गरौं भन्ने निष्कर्षमा पुगिएको हो ।’

पदाधिकारी बैठकमा सहमति भएर आए पनि अध्यक्ष प्रण्चडले उक्त निर्णय सुनाउँदै गर्दा हलबाट ‘पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै आउनुपर्ने’ भन्दै विरोध भएको थियो । प्रचण्डले आफूलाई ‘सबै निर्णय राख्न दिन’ अनुरोध गरेपछि हल शान्त भएको थियो ।

प्रचण्डले पदाधिकारी बैठकले सुझावहरू समेटेर गरेको निर्णय राखिसकेपछि केन्द्रीय सदस्य सरल सहयात्री र दलजित श्रीपाइलीले विरोध गरेका थिए ।

‘यो भनेवापत मैले जे भोग्नु परे पनि परोस् । अहिले भनेजस्तै विधान पारित हुने हो भने जनवादको उपहास गर्न खोजिएको हो’, बाग्मती प्रदेशका अध्यक्ष सहयात्रीले भनेका थिए, ‘सिंगो हलले पदाधिकारीसहित सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने व्यवस्था यही हलबाट पारित गरेर जानुपर्छ ।’

उनले हरेकपटक अर्को अधिवेशनले पारित गर्छ भन्दाभन्दै २५ वर्ष बितिसकेको भन्दै पदाधिकारीले पुरानै मोडल लागू गर्न खोजेको भए खुलेर भन्नुपर्ने, तर अल्झाउन नमिल्ने धारणा राखेका थिए ।

श्रीपाइलीले पनि त्यसमा थप्दै विधानमा दलितलाई विशेषाधिकार दिने विषय पनि उल्लेख गर्नुपर्ने धारणा राखे । हलबाट महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेपछि प्रचण्डले आक्रोशित शैलीमा जवाफ दिएका थिए ।

‘यो (विधान) आजै लागू हुने होइन, विशेष महाधिवेशनबाट हुने हो भनिसकेँ । अहिलेका लागि प्रत्यक्ष निर्वाचित केन्द्रीय कमिटी भन्नु नै ठूलो कदम हो । मैले नै प्रत्यक्ष निर्वाचन पद्दतिबाटै पार्टीलाई गति दिन सकिन्छ भनेको हो’, प्रचण्डले जवाफ दिने क्रममा भने, ‘म अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा छु । आफू बिदा हुनुभन्दा अगाडि कसरी साथीहरूलाई जिम्मा दिने भन्ने मैले पनि सोचेको हुँला नि त ! अहिले नै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट भनेर जाने हो भने ढोका खुलेपछि महाधिवेशनसम्म पार्टीभित्र के हुन्छ भनेर सोच्नुभएको छ ?’

प्रचण्डले आफूले विधान अधिवेशन पनि गर्दैन भन्ने हल्ला चलेकोबारे जानकार रहेको भन्दै खण्डन समेत गरे । पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था गर्नुपर्ने विषयमा आवाज चर्किएपछि प्रचण्डले ‘कोही पनि नडराएको, तर पार्टीकै हितमा विस्तारै ढोका खोल्नका लागि यो निर्णय गरेको’ भनेर झोक्किएका थिए ।

‘पदाधिकारी प्रत्यक्ष हुँदा कोही डराउनेवाला छैन, म त झन् छँदै छैन’, प्रचण्डले हलमा भनेका थिए, ‘म तपाईंहरूको अगाडि उभिएर भन्न सक्छु । गएको ३५ वर्षको इतिहास, जनयुद्धको १० वर्षको तयारी, योजना र नेतृत्व, शान्ति र संविधान, गणतन्त्र, अहिले फेरि अभियान, सरकारको नेतृत्व, सुशासन यी सबै अगाडि छन् ।’

बोल्दाबोल्दै शान्त भएका प्रचण्डले अगाडि भने, ‘त्यसैले गर्दा म छोड्छु भन्दा पनि तपाईंहरूले दिनुहुन्न भन्ने मलाई डर छ । तपाईंहरूले आलोचना गर्दागर्दै पनि मलाई छोड्न दिइराख्नुभएको छैन ।’

अन्तिममा उनले प्रतिनिधिले हलमा बुझाएका सम्पूर्ण सुझाव सुरक्षित राखेको र कसले के सुझाव दिएको रहेछ भनेर हेर्ने बताए ।

कमिटीका आकार घटाउने

माओवादीले हाल कायम रहेको मस्यौदा कार्यदलले प्रस्ताव गरेको भन्दा फरक अंकको केन्द्रीय समितिको संख्या पारित गरेको छ । कार्यदलले मस्यौदामा केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउनुपर्ने प्रस्ताव गरेको थियो ।

अधिवेशन हलमा पनि अधिकांशले कमिटीका आकार घटाएर चुस्त बनाउनुपर्ने सुझाव राखेका थिए । सोही अनुसार माओवादीले १९९ जनाको केन्द्रीय कमिटी बनाउने व्यवस्था विधानमा गरेको छ ।

‘धेरै सानो बनाउने कुरा भएन, ठूलो त बनाउनै हुँदैन भनेर हामीले १९९ जनाको केन्द्रीय समिति बनाउन उचित हुन्छ भन्ने ठाउँमा पुगेका छौं’, प्रचण्डले हलमा भने, ‘त्यसो हुँदा १६५ वटा निर्वाचन क्षेत्रलाई पनि कभर गर्न सकिन्छ र अरू पनि हेर्न सकिन्छ भन्ने सोचिएको छ ।’

यस्तै माओवादीले केन्द्रीय समितिको एक तिहाइ संख्याको पोलिटब्यूरो र ११ जनाको कार्यालय समिति बनाउने भएको छ । पदाधिकारी र स्थायी समितिको काम सोही कार्यालयले नै गर्ने भएको छ ।

यस्तै अहिले भएको २२ जनाको पदाधिकारीलाई नै केन्द्रीय कार्यालय मान्ने निर्णय अधिवेशन हलमा प्रचण्डले सुनाए । यस्तै माओवादीले अब माथिल्लो कमिटीको अधिवेशन गरेर तल्लो कमिटीमा अधिवेशन गर्ने भएको छ । यसअघि तल्ला तहका कमिटीका अधिवेशन पहिले र माथिल्ला कमिटीका अधिवेशन पछाडि गर्दै आएको माओवादीले केन्द्रीय कमिटीको आकार घटाएसँगै यस्तो निर्णय गरेको हो ।

‘विगतमा तलबाट अधिवेशन गर्दै आउँदा अप्ठेरो पर्दै आएको हो । तल भएका नेता माथि आउनको निम्ति थिग्रिदै जाने र असाध्यै ठूलो दबाब केन्द्रीय समिति र नेतृत्वलाई पर्ने गरेको थियो’, प्रचण्डले हलमा भने, ‘अब हामीले पहिले महाधिवेशन प्रतिनिधि चुनेपछि केन्द्रीय महाधिवेशनबाट केन्द्रीय समिति चुन्छौं । त्यसपछि हजारौं कार्यकर्ता प्रदेश, जिल्ला, पालिका र वडातिर फर्किने उपक्रम सुरु हुन्छ भन्ने लागेको छ ।’

नाम र चुनाव चिह्न परिवर्तन नगर्ने

अधिवेशनमा प्रतिनिधिबाट नाम र चुनाव चिह्न समेत परिवर्तन गर्नुपर्ने आवाज उठे पनि माओवादीले यसलाई तत्कालका लागि रोकेको छ ।

मस्यौदा विधानमा नाम र चुनाव चिह्नका बारेमा कुनै प्रस्ताव गरिएको थिएन । मस्यौदामा फरक मत राखेका उपमहासचिव शर्माले भने नाम पनि परिवर्तन गरेर नेकपा (समाजवादी) राख्नु पर्ने प्रस्ताव गरेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विभिन्न समयमा नाम परिवर्तन गरेको उदाहरण दिएर यसमा संकुचित नभएको, तर जतिबेला पनि परिवर्तन गर्न नहुने निर्णय भएको बताएका थिए ।

‘विगतमा कयौं नाम परिवर्तन गरेरै आएका हौं । चुनाव चिह्न पनि फेर्नै नसकिने होइन । तर फेर्न मिल्ने विषय हुन् भन्दैमा जति बेला मन लाग्यो त्यतिबेला, जसरी मन लाग्यो त्यसरी फेर्नु पनि उचित हुँदैन’, जवाफमा प्रचण्डले भने, ‘खास सन्दर्भ, मोड र परिस्थितिमा निर्णय लिनु बढी उचित हुन्छ ।’

उनले केन्द्रीय कार्यालयको बैठकले अरू कम्युनिष्टसँग एकताबारे छलफल गरिरहेको र यस विषयमा टुंगो लागेपछि यस विषयमा सोच्न सकिने बताए । ‘नेकपा चाहिँ छोड्न सकिँदैन, तर नामकै कारण पार्टी एकता रोक्ने भन्ने हुँदैन’, उनले भने ।

उनले नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।

उनले चुनाव चिह्नबाट पनि पहिले जस्तो अप्ठेरो स्थिति नबनेको भन्दै यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताए ।

‘चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा भन्दा गीत बनाउने साथीलाई पनि गाह्रो, नारा लाउने बेला पनि गाह्रो’, उनले भने, ‘यसले हामीलाई धेरै ठूलो क्षति भयो । एकपटक त हाम्रै चुनाव चिह्नका कारण अर्को पार्टीले ७ सिट जित्यो । अहिले जनताले पनि बुझे, पहिलो जस्तो खतरा छैन ।’

तस्वीरहरु : रासस

पुरा हेर्नुहोस्

ताजा समाचार


अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा वागमती पहिलो

मकवानपुर । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वागमती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वागमतीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे ।

प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वागमतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वागमतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।

प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए ।



पुरा हेर्नुहोस्

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।



पुरा हेर्नुहोस्

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिएको‌ छ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक र बक्सिङकी सुष्माले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
गत वर्ष नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् ।

दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए

सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ पाए ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।



पुरा हेर्नुहोस्


२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्